नेपालगन्ज : टाईफाईड Salmonella Typhi अथवा Salmonella Paratyphi A, B, C प्रजातीको ब्याक्टेरियाबाट लाग्ने रोग हो। यो विशेषगरी संक्रमित व्यक्तिको दिसा पिसाब खाना पानीको माध्यामबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। दुषित खाना पानीको माध्यामबाट सर्ने रोग हो यो ।यो रोग जुनसुकै उमेर समुहका व्यक्तिहरुमा हुन सक्ने भएता पनि १५ वर्ष मुनिका बालबालिकाहरुमा संक्रमण दर तथा जटिलता हुने दर बढी रहेको छ।
नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइदै छ, यो किन आवश्यक पर्यो त ?
टाईफाईडको संक्रमण भईरहने देशहरुले टाईफाईड विरुद्वको खोप नियमित खोप कार्यक्रममा समावेश गरिसकेका, नेपालको राष्ट्रिय खोप सल्लाहकार समितिको १४ अगष्ट २०२०को बैठकले टाईफाईड विरुद्वको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने सिफारिस गरेको तथा विश्व स्वास्थ्य संगठनको वर्गिकरण अनुसार प्रति १ लाख जनसंख्यामा १०० भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा (Hyper Endemic) वर्गिकरण रनेपालमा टाईफाईड रोगको संक्रमण र जोखिम उच्चदरमा रहेको अवस्था भएकोले नेपालमा टाईफाईड खोप शुरुवात गर्दैछौँ।
विश्वभर हरेक वर्ष करिब २ करोड व्यक्तिहरु टाईफाईडबाट संक्रमित हुने गरेका छन्। ती मध्ये वार्षिक १ लाख ६१ हजार जनाको मृत्यु टाईफाईडकै कारण हुने भएकोले पनि यो खोप अति आवश्यक रहेको छ ।
नेपालमा विगत ५ वर्षको तथ्याँक अनुसार हरेक वर्ष ४ लाख ५० हजार जनामा टाईफाईडको संक्रमण हुने गरेको छ। विगत ३ वर्षको तथ्याँक अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरु मध्ये टाईफाईड तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, अस्पतालमा भर्ना हुने बिरामी मध्ये चौथो कारण यही रोग रहनु तथा टाईफाईड संक्रमण सबै उमेर समूहमा हुने भएता पनि १५ वर्ष मुनिका बालबालिकाहरुमा करीब ११ गुणा बढी संक्रमण भएको र पाटन एकेडेमी फर हेल्थ साईन्सले गरेको एक अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १०६२ जनामा टाईफाईड संक्रमण भएको अवस्था भएकाले नेपालमा यो खोप शुरुवात गर्न लागिएको हो ।
बालबालिकालाई टाइफाइड विरुद्धको खोप नलगाए के हुन्छ?
खोप नलगाएमा बालबालिकालाई टाईफाईड रोग लाग्न सक्छ, बिरामी हुन्छ, अस्पताल भर्ना गर्न पर्ला, पैसा खर्च हुन्छ, जटिलताका कारण बच्चाको मृत्यु हुन सक्छ। लामो समय बिरामी भयो भने खानामा गडबढी भएर कुपोषण हुन सक्छ जसका कारण बच्चाको बृद्वि विकासमा बाधा हुन सक्छ। यसका सामाजिक, आर्थिक असरहरुको विश्लेषण गर्ने हो भने भयावह अवस्था हुन सक्छ ।
टाइफाइड भेएका बालबालिकालाई के कस्ता असर देखिन्छन् ?
उच्चज्वरो आउने, जाडो हुने पसिना आउने ,टाउको दुख्ने, जीउ दुख्ने जिब्रोमा सैतो लेट लाग्ने (Tongue Coated), टाईफाईडका मुख्य लक्षणहरु हुन भने,पेट दुख्ने पखला लाग्ने वा कब्जियत हुने शरीरमा हल्का राता बिमिराहरु आउने, सुख्खा खोकी लाग्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने जस्ता अन्य चिन्ह लक्षणहरु पनि देखिन सक्छन ।
बालबालिकाहरुमा टाईफाईड रोग लाग्यो भने सानो आन्द्रमा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने शरीरका विभिन्न भागमा र अंगमा संक्रमण फैलिएर असर देखिने (Bacteremia, Septicemia, Multiple organ failure) मष्तिष्क सम्बन्धि Meningitis, Guillain-Barre Syndrome, Neuritis, Neuropsychiatric symptoms जस्ता असरहरु तथा जटिलताहरु पनि देखा पर्न सक्दछन ।