नेपालगन्ज : न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल यस वर्ष पनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट भएको छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा भेरी अस्पताल यो वर्ष पनि उत्कृष्ट ठहर भएको हो ।
अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंक सहित संघीय अस्पतालहरुमा प्रथम भएको भेरी अस्पतालले यस वर्ष ६७ प्रतिशत अंक सहित प्रथम भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले बताए ।
उनले भेरी अस्पतालले सवै रोगको विशेषज्ञ सेवा दिँदै आएको बताउँदै गरिव, असहायको उपचारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । ‘गरिव, असहायको उपचार गर्ने थलो भेरी अस्पताल भएको छ,’ उनले भने ।
भेरी अस्पतालमा भारतबाट समेत उपचारका लागि आउने गरेका छन् । नेपालका विरामी भारतीय अस्पतालमा गएको बताउँदै उनले भारतका विरामी पनि उपचारका लागि भेरी अस्पतालमा आउने गरेको बताए ।