लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति र मन्तव्यले बुद्ध जन्मस्थलबारेका भ्रम अन्त्य भएको बताएका हुन् ।
बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरि बुद्ध नेपाल मै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाइँ जितेको रुपमा उल्लेख गरे । ‘यसले पनि विश्वका कतिपय पर्यटकहरुमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम हटेको छ,’ मन्त्री कार्कीले भने, ‘यस पटकको बुद्ध जयन्ती केवल जन्म जयन्तीको निरन्तरता मात्र होइन, विश्वमै हामी विजय उत्सव पनि मनाइरहेका छौं ।’