काठमाडौं, माघ २० गते। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारबाट सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव बढ्ने भएको हो।
महाशाखाले आज (शनिबार) बुलेटिन जारी गर्दै भोलिबाट देशका अधिकांश स्थानमा मौसम बदलीको सम्भावना रहेको जनाएको छ।
जसका कारण सुदूरपश्चिम प्रदेशका साथै कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
सुदूपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।
साथै सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम प्रणालीको असरले तापक्रम घट्दै गएको छ।जसले चिसो बढ्ने सम्भावना रहेको छ।वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।