निर्मल सुवेदी –हिन्दु नेपाली महिलाहरुको महान् चार्ड “हरितालिका तीज” को अवसरमा तीज सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बर्दिया, मगरागाडीको आयोजना, द भ्वाईस एकेडेमी ई.मि.स्कुल र पेट्रियड ई.मि.स्कुल, जयनगरको प्रायोजन रहेको उक्त कार्यक्रम बर्दिया जिल्ला स्थित बारबर्दिया-०६, जयनगरमा आयोजना गरिएको थियो ।
तीज संस्कृति र संस्कारको संरक्षण गर्ने र नेपाली कला, लोक संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्य स्वरुप तीज सहजीकरण कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ बर्दिया मगरागाडीका अध्यक्ष ऋषिकेश सिग्देलले जानकारी दिए ।
“पुराना परम्परागत र मौलिक शौलीका गीतहरुमा महिला दिदिबहिनीहरुले नाच्दै रमाईलो गर्दै तीज कार्यक्रम सम्पन्न भएको हो” उनले बताए ।
प्रतिकुल मौसमलाई समेत मध्यनजर गरि शुद्ध पिउने पानीको उचित व्यवस्था समेत रहेको उक्त कार्यक्रममा करिब २ सय ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।
धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।