नेपालगन्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुगुका दुई बालिकालाई काठमाडौंमा अध्ययनका लागि सहयोग गर्दै आएका छन् । शनिबार स्कुल बिदाको दिन पारेर ती दुई बालिका ओली निवास बालकोट पुगे । ओलीले भनेका छन्, ‘मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन् । आज पनि आएका थिए ।’
बालकोटबाटै ती दुई बालबालिकाले मुगुका आफ्ना बाआमासँग भिडियो कल गरे । उनीहरूले ओलीसँगै भिडियो कल गरेको तस्वीर ओलीले फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘आज घुम्न जाने भन्दै थिए । तर मेरो फूर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ ।’
ओलीले अर्को महिना छोरीहरूका लागि लुगा किन्न जाने कुरा भएको पनि बताएका छन् ।