बाँके -बाँकेका दूध तथा डेरी पसलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा भुसुना परेको करिब १०० लिटर दूधसहित १० हजार २१० रुपैयाँ बराबरका अखाद्य तथा मापदण्डविपरीतका सामग्री नष्ट गरिएको छ। दूध तथा दुग्ध पदार्थको स्वच्छता, गुणस्तर र बिक्री वितरणको अवस्थाबारे जानकारी लिन गरिएको अनुगमनमा केही पसलमा सरसफाइ, तापक्रम व्यवस्थापन र अभिलेख प्रणालीमा कमजोरी देखिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको अगुवाइमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले मंसिर ७ र ८ गते नेपालगञ्ज तथा कोहलपुर क्षेत्रका ८ वटा दूध तथा डेरी पसलको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा दूधमा न्यूट्रलाइजर मिसावट भए/नभएको स्थलगत परीक्षण गरिएको थियो। परीक्षण गरिएका पसलका दूधमा न्यूट्रलाइजर फेला नपरेको टोलीले जनाएको छ। साथै, थप गुणस्तर परीक्षणका लागि विभिन्न पसलबाट खुला दूध तथा दहीका नमुनासमेत संकलन गरिएको छ।
नेपालगञ्जमा भुसुना परेको दूध बिक्रीका लागि राखिएको पाइयो
मंसिर ७ गते नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका चारवटा डेरी तथा दूध पसलको अनुगमन गरिएको थियो। नेपालगञ्ज–१२, कोरियनपुरस्थित कान्हा डेरी एण्ड जनरल स्टोरमा बिक्रीका लागि राखिएको दूध खुला अवस्थामा रहेको र त्यसमा भुसुना लागेको पाइएको थियो। दूध प्राप्त गर्दा तापक्रम मापन गर्ने नगरिएको तथा फ्रिजको तापक्रमको अभिलेखसमेत नराखिएको पाइएपछि करिब १०० लिटर दूध (रु. १० हजार बराबर) पसल सञ्चालकलाई नै नष्ट गर्न लगाइएको थियो। खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने गरी कागज प्रयोग गरेर प्याकेजिङ गरिएको पफसमेत रु. २१० बराबरको नष्ट गरिएको थियो। पसल सञ्चालकलाई सरसफाइ चुस्त राख्न निर्देशन दिइएको छ।
सोही दिन नेपालगञ्ज–१२, कोरियनपुरस्थित विष्णु दूध खरिद बिक्री केन्द्र, नेपालगञ्ज–११, बीपी चोकस्थित अनुजा डेरी पसल र बीपी चोकस्थित भट्टराई दुग्ध उद्योग प्रा.लि.को बिक्री काउन्टरमा समेत अनुगमन गरिएको थियो। अनुगमनको क्रममा सरसफाइको अवस्था सामान्य रहेको तथा फ्रिजको तापक्रमको अभिलेख नराखिएको पाइयो।
कोहलपुरमा दूधको तापक्रम र अभिलेख व्यवस्थापनमा कमजोरी
मंसिर ८ गते कोहलपुर नगर क्षेत्रका थप चारवटा दूध तथा डेरी पसलको अनुगमन गरिएको थियो। कोहलपुर–११, रेडक्रस रोडस्थित शिव शक्ति ए-वान डेरी पसलमा सरसफाइको अवस्था सन्तोषजनक रहे पनि दूध चिस्यानसहितको गाडीमा ढुवानी नहुने र दूध प्राप्त गर्दाको तापक्रमको अभिलेख नराखिएको पाइयो।
कोहलपुर–११, गोलपार्कस्थित आर.सि. किराना पसलमा पनि सरसफाइ सन्तोषजनक रहेको पाइयो। उक्त पसलले प्रत्यक्ष किसानबाट दूध संकलन गर्ने गरेको र कहिलेकाहीँ Fat तथा SNF परीक्षण गर्ने गरे पनि त्यसको अभिलेख नराख्ने गरेको पाइएको छ।
कोहलपुर–११, पुरानो बसपार्कस्थित श्रीकृष्ण डेरी उद्योगमा आफ्नै दूध संकलन तथा चिस्यान गर्ने व्यवस्था रहेको पाइए पनि प्याकेजिङ गरी दूध तथा दुग्ध पदार्थ बिक्री वितरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट उद्योगको अनुमति लिएर मात्र कारोबार गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, कोहलपुर–११ स्थित साझा डेरी उद्योगमा सरसफाइको अवस्था कमजोर रहेको तथा दूध भण्डारण र प्रशोधन गर्ने स्थान व्यवस्थित नभएको पाइएपछि दूध भण्डारण तथा प्रशोधन गर्ने स्थान व्यवस्थित गर्न निर्देशन दिइएको छ।
दुई दिनको अनुगमनका क्रममा विभिन्न डेरी तथा दूध पसलबाट दूध र दहीका नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको थियो।
मङ्सिर महिनामा मात्र कार्यालयले १६ वटा डेरी पसलमा अनुगमन गरिसकेको छ।
अनुगमन टोलीले डेरी तथा दूध पसल सञ्चालकहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम राख्न, सरसफाइमा विशेष ध्यान दिन, दूध तथा दुग्ध पदार्थको तापक्रम नियमित मापन गरी अभिलेख राख्न, सुरक्षित ढुवानी तथा भण्डारण व्यवस्था मिलाउन र प्रचलित मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
उपभोक्ताहरूले दैनिक उपभोग हुने दूध तथा दुग्ध पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने बताउँदै नियमित अनुगमन र प्रभावकारी नियमनको अपेक्षा गरेका छन्। यता, डेरी व्यवसायीहरूले पनि दूधको गुणस्तर कायम राख्न चिस्यान व्यवस्थापन, सरसफाइ र सुरक्षित ढुवानी महत्वपूर्ण रहेको स्वीकार गर्दै व्यवसाय सञ्चालनका क्रममा देखिने प्राविधिक तथा पूर्वाधारसम्बन्धी समस्या समाधानमा सम्बन्धित निकायको सहजीकरण आवश्यक रहेको धारणा राखेका छन्।