नेपालगन्ज – बाँकेको नेपालगञ्ज डा. धवशलशमशेर राणाको ‘गढ’को रूपमा चिनिन्छ । बाँके–२ मा पर्ने नेपालगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संगठन खासै बलियो छैन तर महामन्त्री राणा त्यहाँ आफैंमा लोकप्रिय व्यक्ति हुन् ।
२५ वर्षअघि २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए राणा ।
३२ वर्षको उमेरमै नेपालगञ्ज हाँकेका राणा २०६२/२०६३ को राजनीतिक परिवर्तनपछि एमाले छाडेर राप्रपा प्रवेश गरे । आफ्नो राजनीतिक भविष्य दाउमा लगाएर एमाले छाडेका उनी २०६४ र २०७० सालका २ संविधानसभा निर्वाचनमा तत्कालीन बाँके–३ बाट उम्मेदवार बने पनि हार व्यहार्नुपर्यो । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी फेरि मेयरको उम्मेदवार बनेर भारी मतका साथ पालिकामै ‘कम ब्याक’ भए । नेता राणा अहिले राप्रपाबाट बाँके–२ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् । राणालाई एमालेले सघाएको छ ।
केन्द्रमा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राप्रपाबीच तालमेल भए पनि यहाँ मित्रवत प्रतिस्पर्धा छ । एमालेले जसपासँग तालमेल हुनुअघि नै राणालाई प्रतिनिधि सभामा सघाउने वचन दिएको थियो भने यहीँ क्षेत्रबाट निर्वाचित जसपाका नेता मोहम्मद इस्तियाक राई पनि आफूले जितेको क्षेत्र छाड्न तयार भएनन् ।
अन्ततः जसपा, गठबन्धन तथा राप्रपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ, जसको सबैभन्दा चर्चामा छन् राणा ।
सत्तारुढ गठबन्धनमा जसपा हुँदा पनि बाँके–२ को टिकट वितरणमा सकस परेको थियो भने गठबन्धनबाट जसपा बाहिरिएर एमालेमा आउँदा पनि उस्तै संकट देखापरेको हो । राणा पहिलो संसदीय यात्राको जीत निकाल्ने अभियानमा जुटेका छन् ।
बाँके–२ का लागि राई पनि निकै बलिया उम्मेदवार हुन् । सत्ता गठबन्धनबाट सुदीपनरसिंह राणा उम्मेदवार बनेका छन् । उनी खासै चर्चामा देखिएका छैनन् तर उनी पनि धवल, राईलाई पराजित गरेर जीत निकाल्ने कसरतमा देखिन्छन् ।
त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि राणा र राईबीच नै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सुदीप पहिलोपटक उम्मेदवार बन्ने अवसर पाएका नेता हुन् ।
२०७४ सालको निर्वाचनमा राईले २ वटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत निकालेका थिए । त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपति दयाल मिश्र चुनाव लडेका थिए । राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो । राईले २१ हजार ५७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार ९५१ र राप्रपाका आजादले ११ हजार ६२२ मत ल्याएका थिए ।
राप्रपाका सहायक महामन्त्री ऋषि देवकोटाले बाँके–२ मा यसपटक धवलशमशेर निर्विकल्प भएको दाबी गर्छन् । ‘यहाँबाट पटक–पटक निर्वाचित भएर पनि इस्तियाक राईले केही काम गरेनन्,’ देवकोटाले लोकान्तरसँग भने, ‘राणाको व्यक्तिगत इमान्दारिता, राप्रपा र एमालेको बलियो संगठन धवलशमरेशको जीतका आधार हुन् ।’
देवकोटाले थपे, ‘यहाँ यसपटक धवलशमशेर राणाको इन्ट्री र राईको बिदाइ जनचाहाना देखिन्छ । २ पटक गरेर नेपालगञ्जको नेतृत्व गर्दा धवलशमशेरले विकासका सबै काम गर्नुभएको छ । अब डडुवा गाउँपालिकालाई शहरसँग जोड्ने हाम्रो एजेण्डा छ, त्यो पूरा गर्छाैं ।’ बाँके–२ मा नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा र डडुवा गाउँपालिका पर्छन् ।
जसपा जिल्ला सचिव राजेन्द्र विकले इस्तियाकको विकल्प नेपालगञ्जले नखोजेको दाबी गरे । ‘उहाँले मन्त्री हुँदा धेरै काम गर्नुभएको छ । लोकप्रिय युवा नेता राईले नेपालगञ्जको धेरै काम गर्नुभएको छ । उहाँको विकल्प बाँके–२ मा छैन,’ उनले भने, ‘यहाँका जनताहरूले यो नेतृत्वले विकासको गरेको छ भन्ने बुझेका छन्, यसकारण युवालाई नै दिनुपर्छ भन्ने आवाज नेपालगञ्ज र डडुवाभरि उठिरहेको छ ।’
मधेशी र मुस्लिम समुदाय बाहुल्य यस क्षेत्रमा उनलाई जीत निकाल्न सहज हुने स्थानीय नेता बताउँछन् । जसपा मधेश केन्द्रित दल र राई मुस्लिम समुदायकै भएकाले पनि त्यहाँका नागरिकको राईले ‘सेन्टिमेन्ट’ प्राप्त गर्न सक्ने आकलन गरिएको छ । राई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् । राई मन्त्री हुँदा जिल्लामा भौतिक पूर्वाधारले धेरै फड्को मारेको जसपाको दाबी छ । कांग्रेस कार्यकर्ताले स्व. सुशील कोइरालाको निधनपछि यस क्षेत्रमा पहिलोपटक आफ्ना उम्मेदवारलाई मतदान गर्न पाउँदैछन् ।
कोइरालाले २०७० सालसम्म बाँके–२ बाट चुनाव लड्ने गरेका थिए । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्दा सहमति नभएपछि जसपाले गठबन्धन छाडेको हो । त्यसपछि कांग्रेसका सुदीपनरसिंहले चुनाव लड्ने अवसर पाएका छन् । सुदीपलाई माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय जनमोर्चाको साथ छ ।
सुदीप तरुण दलबाट राजनीतिमा आएका नेता भए पनि धवलशमशेर र इस्तियाक जस्तो जनतामाझ लोकप्रिय भने देखिँदैनन् । गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस बलियो देखिन्छ । कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४७८, जसपाले १३ हजार ८०९, राप्रपाले ८ हजार ४९४, माओवादी केन्द्रले ६ हजार ८५९, नेकपा एसले ८२१ र लोसपाले ५६४ मत प्राप्त गरेका छन् । बाँके–२ मा १६ जनाको उम्मेदवारी परेको छ, जसमा ५ जनाको स्वतन्त्र उम्मेदवारी छ ।
सुदीपले डडुवाको डुबान समस्यादेखि नेपालगञ्जलाई परिवर्तन गर्ने गरी आफूले काम गर्ने बताउँदै भोट मागिरहेका छन् । नेपालगञ्जमा पर्ने बाँके–२ पश्चिम नेपालको प्रमुख व्यापारिक र औद्योगिक नगरीको रूपमा परिचित छ ।