नेपालगञ्ज, कार्तिक २४।
“खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नाराका साथ आजदेखि नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु भएको छ।
उक्त तालिमको आयोजना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले गरेको हो। यो तालिम आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको छ।
तालिमको उद्घाटन सत्रमा वक्ताहरूले खाद्य सुरक्षा, स्वच्छता र गुण नियन्त्रणका मापदण्डहरूलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी हुने बताएका थिए।
चार दिनसम्म चल्ने तालिममा सहभागीहरूलाई खाद्य प्रशोधन प्रविधिका नवीनतम विधि, नमुना परीक्षणका आधारहरू, गुणस्तर कायम राख्ने उपायहरू तथा प्रयोगात्मक सीपसम्बन्धी प्रशिक्षण दिइनेछ।
कार्यक्रममा विभिन्न सरकारी निकायका प्राविधिक कर्मचारी, सरोकारवाला संस्था र खाद्य व्यवसायीहरूको सहभागिता रहेको आयोजक कार्यालयले जानकारी दिएको छ।
