नेपालगन्ज । बर्दिया कारागारबाट भागेका ‘भाइ-नाइके’ ३० वर्षीय अजिबबुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ।
भदौ १७ गते बिहान सवा ३ बजे बिहान उनी पर्खाल नाघेर फरार भएका थिए।
जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार रहेका अजिबविरूद्ध औपचारिक रूपमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया थालेको बताए। त्यसका लागि आवश्यक आग्रह गरिसकेको उनले बताए।
रेड कर्नर नोटिस जारी भएका व्यक्तिलाई जुन देशमा फेला परेपनि पक्राउ गर्न सकिनेछ।
फरार रहेका अजिब नेपाल–भारत सीमा क्षेत्रको जंगलमा लुकेको आशंका गरिएको थियो। उनलाई खोज्न नेपाल प्रहरी र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी गरिरहेको छ। तर अझै फेला पर्न सकेका छैनन्। खोजी गर्नेक्रममा रोज नामक तालिमप्राप्त कुकुर समेत मरिसकेको छ।
‘भारतीय सुरक्षाकर्मीबाट फरार कैदी खोज्न सायदै अहिले सम्म यत्तिको सहयोग भएको थिएन होला,’ एसपी शाहीले भने, ‘वन जंगल र भौगोलिक परिस्थितिले हाम्रो प्रयास हालसम्म सफल हुन सकिरहेको छैन।’
पछिल्लो समय प्रहरी अधिकारीहरूले फरार अजिब भारत पुगेर लुकेर बसेको हुनसक्ने अनुमान गरेका छन्।
जिल्ला कारागारका ‘भाइ नाइके’ अजिब फरार भएपछि त्यसबारे छानबिन गर्न गठिन समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ। बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा अजिब जेलको पर्खाल नाघेर भागेकै दिन पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।
समितिको सदस्यमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा थिए।
यो समितिले बुझाएको प्रतिवेदनमा कारागारका प्रमुख सन्तोष बिक, ड्युटीमा खटिएका सईसहित चार जना प्रहरीलाई विभागीय कारबाहीको मागसहित गृह मन्त्रालयमा पत्राचार भएको छ।
‘समितिले बुझाएको प्रतिवेदनमा कारागारको सुरक्षामा लापरवाही अर्थात कमजोरी भयो भन्ने कुरा औंल्याइएको छ,’ एसपी शाहीले भने, ‘त्यही आधारमा कारागार अधिकृतसहित डिउटीमा रहेका चार जना प्रहरीलाई विभागीय कारबाहीको लागि हामीले गृह मन्त्रालयमा सिफारिस गरेका हौं।’