काठमाडौं। हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटमा नछुट्ने योजना हो -हुम्ला सदरमुकाम सिमिकोटमा सडक पुर्याउने। तर वर्षको अन्तिम महिनामा आइपुग्दा सरकारको योजना वर्षौंदेखि पूरा नहुने सूचीमा छ। सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने योजना अपुरो छ।

योजना तोकिएको अवधिमा पूरा नभएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चासो राखेका छन्। मन्त्री ज्वालाले मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका अधिकारीहरूसँग छलफल गरेका छन्।
छलफलमा उनले यो वर्ष सडकको काम पूरा हुनुपर्ने बताए। उनले भने, ‘सरकारले हरेक वर्ष आफ्नो प्राथमिकतामा राख्छ तर सडक सिमिकोट पुग्दैन, यो वर्ष जसरी पनि सडक सञ्जालले हुम्ला सदरमुकामलाई जोड्नैपर्छ।’
सलीसल्लादेखि सिमिकोटसम्मको ५५ किलोमिटर सडकमध्ये २.५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ। ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।
सेनाले बाँकी काम केही महिनामै सक्ने जानकारी मन्त्री ज्वालालाई दिएको छ। लालीबगर-लेचे सडकखण्डको २.५ किलोमिटर सडक केही समयमा ट्रयाक खुले पनि नियमित सवारीसाधन चल्ने अवस्था भने छैन।
ट्रयाक खेले पनि च्याँछरा खण्डको ६ सय मिटरमा सार्वजनिक बस चल्ने अवस्था छैन।
ट्याक्टर आवातजावात गरे पनि सवारीसाधन चल्ने अवस्था नभएको मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले बताए।
‘ट्रयाक ओपन भएको तर यातायात चल्न सक्ने अवस्थामा नरहेको सडकको बाँकी काम पनि नेपाली सेनालाई सुम्पिने योजना मन्त्रालयले बनाएको छ’ सहसचिव थापाले भने, ‘विस्फोटक पदार्थको अभावमा च्याछरा सडकको स्तरोन्नति गर्न सकिँदैन, त्यही भएर नेपाली सेनालाई जिम्मा दिने मनसाय मन्त्रालयले बनाएको हो।’
सलीसल्लादेखि खुलालुसम्मको १२३ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ।