
शब्द/तस्वीर – भाेजराज भाट
-रानी पद्यमकुमारी, रानीकुलो, धुलिकोटे दरबार र सत्तीको पद्यमप्रकाशेश्वर मन्दिरको कथा-
कर्णाली चिसापानी पुलबाट डेढ सय मिटर पश्चिम, अहिलेको सिद्धबाबा होटेल छेऊ नजिक उत्तरतिर गोरेटे बाटो निर्माण गरिएको छ, त्यसलाई पछ्याउँदै तीन घण्टा उक्लियो भने चुरेको शिरानमा एक सुन्दर रहस्यमयी उपत्यका पुगिन्छ । जंगलको बीचमा पानीका नौला छन् । टुंडिखेल मैदान । धुलिकोटे दरबारको भग्नावेश अवस्था अझै देखिन्छ । मालिकाको मन्दिर छ । हात्तीजस्तै ढुंगा छ । भैरवथान र जगनाथको मन्दिर छ । जंगलको टाकुरामा महादेवको मन्दिर र त्यसको छेऊमा रहस्यमयी गुफा छ । गुफाकै छेऊमा कोतघर ओडार पनि देख्न सकिन्छ । भनिन्छ, धुलिकोटे महाराजको दरबारबाट पानीको नाउलोसम्म, नाउलोदेखि टुंडिखेलसम्म र कोतघरसम्म पुग्ने तीन वटा छुट्टाछुट्टै गुफा मार्ग थिए रे ।
करिब विस. १५९० तिर स्थापना भएको एक स्वायत्त राज्यको कर्णाली छालतिरको अछाम, तल्लो सुर्खेत, अहिलेको बर्दिया र कैलाली र लखिमपुर भारतसम्म इलाका थियो । धुलिकोटमा दरबार बनाइनुको मुख्य कारण कुनै वेला यहीबाट उत्तरी तिब्बत (भोट)को नून, ऊन, सुन र माल तथा मलवारको गुड, कपडा र तेल साट्ने बजार चल्दथ्यो । यसलाई साल्टट्रेड मार्ग पनि भनिन्थ्यो ।
भौगोलिक हिसाबले धुलिकोट आफैंमा टाकुरामा छ, सामरिक हिसाबले सत्रुले सित्ती आक्रमण गर्न नसक्ने ठाउँमा दरबार (कोट) बनाइएको छ । यहाँ बनाइएको मालिका मन्दिरको सिधा कनेक्सन बडिमालिकासँग छ, किनभने यहाँबाट बडिमालिकाको चुचुरो प्रष्टसँग देख्न सकिन्छ । र, मालिकाबाट सत्तीस्थित पद्य्मप्रकाशेश्वर मन्दिर पनि देख्न सकिन्छ ।
पद्यम्प्रकाशेश्वर मन्दिरको जिर्णाेदार गर्न लगाइन् र राजाकै सम्झनामा ५० धानीको घण्टी घण्टी अर्पण गरिन् । त्यही नापको घण्टी धुलिकोटे चौतारियाले गाइने काँडा भैरवथान देउतालाई चढाए । भनिन्छ, शत्तिघाटको घण्ट र गाइनेकाँडाको घण्टको आवाज आपसमा सुनिन्थ्यो । तर गाइने काँडाको घण्टा वेकम्मा भइ फुटेकोले बजाउँन नमिल्ने अवस्थामा रहेको प्राध्यापक डा राजाराम सुवेदीले पुरातात्वविक विभागद्धारा प्रकाशित प्राचिन नेपाल नामक दस्तावेज (२०६१) उल्लेख गरेका छन् । रानी
पद्यमकुमारीबारे विस्तृत लेख लेख्ने विचार छ, छिट्टै यहाँ समक्ष पस्कनेछु ! यो ठाउँ कसरी सुदूरपश्चिम र खासगरि पूर्वी कैलालीको प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्छ भन्ने लेख तयार पार्ने सोच छ । र, यही ठाउँमा ग्लोबल आईएमई ग्रुपले केवलकार बनाउने तयारी गर्दैछ, त्यसबारे छुट्टै लेख्ने तयारी गर्दैछु ।यहाँको सल्लाह, सुझाव र थप जानकारीको अपेक्षा गरेको छु । अहिलेलाई यत्ति । जधौं ।