नेपालगन्ज “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ” भन्ने मूल नारा सहित जेठ २४ मा मनाइएको विश्व खाद्य स्वच्छता दिवस (७ जून, २०२३) को अवसरमा खाद्य प्रविधि क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको विशिष्टीकृत संस्था नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) मध्य पश्चिम इकाईको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँके तथा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगंज को सह-आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ।
नेफोस्टा मध्य पश्चिम इकाईका सभापति सन्तोष पोखरेलको सभापतित्व, जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको प्रमुख आतिथ्य, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका कार्यालय प्रमुख सन्तोष दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख संगम दाहाल, निर्णायक मण्डलबाट नेपालगंज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख, शाखा अधिकृत लोकेन्द्र शाही, उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतम, दुगड ग्रुपका वरिष्ठ खाद्य प्राविधिज्ञ मान बहादुर कटवाल, दुग्ध विकास संस्थानका नेपालगंज आयोजना प्रमुख कृष्ण प्रसाद अर्याल, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खाद्य प्राविधिज्ञ रोशन श्रेष्ठको आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।
नेफोस्टा मध्य पश्चिम इकाई कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक गौरी हमालले स्वागत मन्तव्य राखेको थिइन,भने कार्याक्रमको संचालन खाद्य निरीक्षक ज्योति आचार्यले गरेका थिए।
औपचारिक कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले खाद्य स्वच्छता सप्ताह अवधिमा कार्यालयले एकल तथा सहकार्य गरी सम्पन्न गरेका कार्यक्रमहरु बारे जानकारी गराउनु भयो ।
जसमा पहिलो दिन फ्लेक्स, ब्यानर टाँस गर्ने तथा कार्यालय परिसर सरसफाई कार्यक्रम, दोश्रो दिन कोहलपुरका विभिन्न सामुदायिक विद्यालयहरुमा खाद्य स्वच्छता सम्बन्धी विद्यालय सचेतना कार्यक्रम, चौथो दिन होटल, रेष्टुरेन्ट तथा बजार अनुगमन तथा सडक छेउछाउ विक्री हुने खाद्य पदार्थ अनुगमन, पाँचौ दिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त उद्योग अनुगमन, छैठौँ दिन खजुरा गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी स्थानीय तहसंग अन्तरक्रिया कार्यक्रम, नेपालगंज उपमहानगरपालिकामा स्ट्रिट फुड संचालनको विषयमा सरोकारवाला पक्षसंग छलफल तथा सोही दिन बाँसगढी नगरपालिकाद्वारा आयोजित लक्षित वर्गलाई अचार र टमाटर सस सम्बन्धी कार्यक्रममा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।
सातौँ दिन बिहान खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट विपी चोकसम्म प्रभातफेरी कार्यक्रम गरि सम्पन्न गरिएको थियो।
कार्याक्रमको दोश्रो सत्र वक्तृत्वकला कार्यक्रम खाद्य अनुसन्धान अधिकृत अन्जु हुमागाँईबाट संचालान भएको थियो ।
जसमा नेपालगंज उपमहानगरपालिकाका आठवटा सामुदायिक विद्यालयबाट जम्मा आठ जना विद्यार्थी सहभागी भएका थिए।
निर्णायक मण्डलको निर्णयले धम्बोझी मा.वि.की छात्रा गरिमा खनाल प्रथम, जय जनता मा.वि.का छात्र महेन्द्र ढुंगाना द्वितीय, आदर्श मा.वि.की छात्रा कुसुम भण्डारी तृतीय भए। सरस्वती मा.वि.की छात्रा निर्मला कुमारी जोशीले सान्त्वना पुरस्कार प्राप्त गरिन्। विजयी छात्र छात्रालाई प्रमुख अतिथिको हातबाट प्रथमलाई रु. ५०००, द्वितीयलाई रु. ३०००, तृतीयलाई रु. २००० र सान्त्वनालाई रु. १००० नगद सहित मेडल तथा प्रमाणपत्र तथा सहभागी सम्पूर्ण विद्यार्थी तथा विद्यालयलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले “खाद्य स्वच्छता जनस्वास्थको दृष्टिले अपरीहार्य विषय भएकोले जिल्लामा नियमीत अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न, लेवल सम्बन्धी जनचेतना अभिवृद्धि गर्न र गलत कार्यहरु नियमानुसार कारवाही गर्न सरोकारवाला कार्यालयहरु लागि पर्नुपर्ने बताए”।
आचार्यले खाना स्वच्छा छैन भने सुरक्षित छैन भन्ने कुरालाई जोड दिनुभयो। नेफोस्टा मध्य पश्चिम इकाई सभापति सन्तोष पोखरेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै खाद्य स्वच्छताको सुनिश्चिताको लागि आफ्नो संस्था सधै तत्पर रहेको बताउँदै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।

