सुर्खेत । नेपाली भुमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री शेर बहादुर देउवाको मन दुखेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । आइतवार नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगर घण्टाघरचोकमा आयोजना गरिएको बृहत जनासभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री देउवालाई पाँच पटक प्रधानमन्त्री भएर गरेको एउटा काम देखाउन अनुरोध गरे । ‘पाँच पटक प्रधानमन्त्री भएर के गर्नुभयो ? “आफ्ना लागि गर्नु भयोे होला, देशका लागि र जनताका लागि के गर्नु भयो भन्नुस ” भन्दै ओलीले प्रश्न गरे । हामीलाई के गर्नु भयो भनेर सोध्नुहोस हामी भन्छौँ तपाई उभिएको अगाडी, पछाडी चारैतिर हेर्नुहोस एमालेले गरेको काम देख्नु हुन्छ ओलीले भने ।
“देशको गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा किन तपाईँलाई खलखल पसिना आउने, किन चित्त दुख्ने शेरबहादुर जी ”? भनेर उनले पुनः प्रश्न गरे । ओलीले एमाले पार्टीका मान्छे देशैभर मात्र नभई जहाँ नेपालीहरु छन् त्यहा एमाले भएको दावी गरेका छन् ।
एमाले बर्चसो देखाई घमण्ड नगर्ने र जनताको सेवा, विकासलाई अगाडी बढाउने, इमान्दारका साथ भ्रष्टचारको अन्त्य, सुशासन दिने तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने पार्टी भएको दाबी गरेका छन् । देश बचाउने, देशको स्वाभिमान जोगाउने नेकपा एमाले पार्टीलाई कमजोर बनाउन घेराबन्धी गर्न तथा हराउँनको लागि गठबन्धन गरेको उनले जिकिर गरेका छन् ।
सय वटा स्यालले पनि एउटा सिहँलाई घेराबन्दी गर्न नसक्ने बताउँदै सानातिना टालाटुली फुटेका खपेटा खपेटी जोडेर कुनै राष्ट्र निर्माण नहुने दाबी गरे । पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी तेस्रो शक्ति हुन्छ तथा आफु जता लाग्यो त्यतै सरकार बन्छ भन्ने कुरा भ्रममा रहेको बताएका छन् । प्रचण्ड बिचौलिया भएर खाने मान्छे हुन् अव उनको बिचौलिया भएर खाने दिन मंसिर ४ गतेदेखि सकिन्छ ।