बाँके,
सम्झौता गरेर वर्षौंसम्म काम अलपत्र पार्दै आएको बर्दियास्थित अमन कन्स्ट्रक्सन विरुद्ध खजुरा गाउँपालिकाले कडा कारबाहीको प्रक्रिया अघि बढाएको छ। सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि एक–एक योजना सम्पन्न गर्न नसकेपछि गाउँपालिकाले कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार अमन कन्स्ट्रक्सनले खजुरामा पाएका पाँचवटै योजनामा “शून्य प्रगति” देखिएपछि बारम्बार ताकेता, सार्वजनिक सूचना र सम्पर्कमा आउन आग्रह गरिए पनि कम्पनीका प्रतिनिधिहरूले निरन्तर अवहेलना गर्दै आएका छन्।
🔹 “काम नगर्ने, सम्पर्कमै नआउने– अब कारबाहीबाहेक विकल्प छैन”
अधिकृत पौडेलले पदभार सम्हालेपछि पटक–पटक दबाब दिएर काम सुरु गराउने प्रयास गरे पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताउनुभयो।
“हामीले सूचनाजारी गरेर सबै ठेकेदारहरूलाई सम्पर्कमा आउन भनेपछि धेरैजना आए। काम गर्ने प्रतिबद्धतासहित काम पनि थाले,” उहाँले भन्नुभयो, “तर अमन कन्स्ट्रक्सन भने पुनः सम्पर्कविहीन भयो। अब कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ।”
गाउँपालिकाले हालै फेरि सार्वजनिक सूचना जारी गर्दै अमन कन्स्ट्रक्सनलाई अन्तिमपटक सम्पर्कमा आउन आग्रह गरेको छ। केही दिनभित्र पनि सम्पर्कमा नआए सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने गाउँपालिकाले जनाएको छ।
🔹 पाँच ठेक्का—एकैचोटी अलपत्र
अमन कन्स्ट्रक्सनले खजुरा गाउँपालिकासँग २०७७/७८ मा पाएका पाँच ठेक्का यस प्रकार अलपत्र छोडेको छः
१. एनआइसी बैंक–मनकामना जाने सडक तथा नाली निर्माण (ठेक्का नं. १८)
२. गोपालसिंह आलेको घर–लालबहादुर रजाली घरसम्म बाटो स्तरउन्नती (ठेक्का नं. १९)
३. मनकामना आधारभूत निम्न माध्यमिक विद्यालय–एफ गाउँ जाने बाटो कालोपत्रे (ठेक्का नं. २४)
४. वडा नं. ३ बि गाउँ ९०–१०५ नम्बरसम्म बाटो स्तरउन्नती (ठेक्का नं. २७)
५. वडा नं. ४ ई गाउँ–पूर्व एफ गाउँ जाने बाटो स्तरोन्नती (ठेक्का नं. २८)
🔹 स्थानीयवासी वर्षौंदेखि सास्तीमा
अमन कन्स्ट्रक्सनको लापरबाहीका कारण खजुराका सातओटा योजना अलपत्र परेका छन्। सडक, नाली, स्तरोन्नती र विकासका मूलभूत काम नहुँदा स्थानीयले वर्षौँदेखि समस्या भोग्दै आएका छन्।
🔹 कालोसूचीमा परेपछि के हुन्छ?
कानूनअनुसार कालोसूचीमा परेको ठेकेदार—
• देशभरका कुनै पनि सरकारी ठेक्का लिन पाउँदैन।
• गाउँपालिकासँगको सम्झौता स्वतः रद्द हुन्छ।
• ठेक्का लिँदा बैंकमा राखिएको ग्यारेन्टी रकम फिर्ता पाउँदैन।
🔹 केही कम्पनी सुधारिए, अमन फेरि गायब
गाउँपालिकाको कडा कदमपछि केही कम्पनीले सम्पर्क आएर काम गरेको अधिकृत पौडेलले बताउनुभयो।
उदाहरणका लागि, गौरा–सिस्ने–अमन जेभी ले अस्पताल निर्माणको पुनः काम सुरु गरेको छ।
तर अमन कन्स्ट्रक्सन (गुलरिया–५) भने पहिलेजस्तै काम नगर्ने र सम्पर्कविहीन भएको आरोप छ।
कम्पनीका प्रतिनिधि रमेश यादवसँग बुझ्न खोज्दा उहाँले प्रयोग गर्ने मोबाइल नम्बरहरू—
९८४८०३८९२८ र ९८१९५२७६३७—मा सम्पर्क हुनै सकेन।
⸻
खजुरा गाउँपालिकाले भनेको छ—अब केही दिन पर्खन्छौँ, त्यसपछि अमन कन्स्ट्रक्सनका विरुद्ध ‘कडाभन्दा कडा’ कानुनी कारबाही अघि बढाइनेछ।