बैशाख २० । अघिल्लो सातादेखि प्रशिक्षक र दश खेलाडीबीच भएको असहमति हटाउन छानविन समिति गठन गरिने भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र दश खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीसँगको छलफलपछि छानबिन समिति गठन गर्ने भएको हो । मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य भएका १० खेलाडीसँग भएका कुराकानीपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएको जनाइएको छ । जसअनुसार भोली बुधबार छानबिन समिति गठन गरी शीघ्र विवाद टुंग्याउने जनाइएको छ । अघिल्लो साता प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।