राजापुर । बर्दिया राजापुर साहित्य प्रतिष्ठानले आज प्रसिद्ध साहित्यकार प्रकाश राजापुरीको ८५ औं जन्म जयन्तिको अवसरमा एक श्रद्धाञ्जली समारोहको आयोजना गर्यो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य महानन्द ढकालले प्रकाश राजापुरीको साहित्यक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनु पर्ने बताउनु भयो। ढकालले राजापुरीको लेखनमा माटोको सुगन्ध भेट्टिने भन्दै राजापुर नगरपालीकाले राजापुरीको साहित्यिक योगदानलाई सम्झनु पर्ने बताउनु भयो ।
साहित्यकार खगेन्द्र गिरि कोपिलाले राजापुरको व्याक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै मूल्चोकमा प्रकाश राजापुरीको शालिक स्थापना गर्न राजापुर साहित्य प्रतिष्ठानले पहल गर्नु पर्ने बताउनु भयो।
राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले सभापतिको मन्तव्य राख्दै राजापुरीले राजापुरलाई मात्रै होइन सिङ्गो गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई सम्झने गरेको बताउनु भयो
कार्यक्रममा प्रकाश राजापुरीका पुत्र आलोक गुप्ताले राजापुरीको व्यैयक्तिक जीवन बारे बोल्नु भएको थियो।
कार्यक्रममा जीवराज पाण्डेय, बालकृष्ण शर्मा, बद्री ढकाल हीरामणी, सुभास दहित,सन्तोष रेग्मी, श्याम शराबी र सहदेव चौधरी समेतका स्रस्टाहरुले नेपाली र थारु भाषामा रचना सुनाएका थिए।