१. जन्म र जन्मस्थान
नेपालको पश्चिमी क्षेत्र साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चल, सुर्खेत जिल्लाअन्तर्गत तामागाकाँडा गाउँ पञ्चायत वडा नं.-४, टिमुरे (हाल: सिम्ता गा.पा.) भन्ने गाउँमा मध्यम वर्गीय परिवारमा चन्द्रबहादुर बुढाको जन्म भएको थियो । पिता मानबहादुर बुढा मगर र माता कमला बुढा मगरको कोखबाट वि.सं. १९८७ चैत्र २९ गतेका दिन उनको जन्म भएको हो । उनका दाइ २ जना, दिदीबहिनी २ जना र आफू गरी जम्मा पाँचजना भाइबहिनी रहेका थिए । उनको माल्दाजुको सानैमा निधन भएकाले त्यो मृत्युदेखि आफ्नो दाजु गुमाउनु पर्दा मनमा असैह्य पीडाका घाउहरू कलिलो मनमस्तिष्कमा छाप परेकाले त्यो कालबाट समाजमा कसैको पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर समाजको विकासमा अग्रहणी भएर काम गरेकाले उनको समाज सेवामा ठुलो छाप परेको देखिन्छ । रोग, भोक तथा शोकबाट कुनै पनि व्यक्तिको ज्यान जोखिमबाट हटाउन तथा उन्मुक्ति दिनमा अग्रणी भूमिका निर्वाह गरेकाले समाजमा उनको नाम प्रख्यात हुन पुग्यो । उनले समाजमा गरेका कामहरूमा समुदायबाट माना पाथी उठाउँदै अनाज जम्मा गरी दुःख परेको बेला सघाउने उनको ठुलो परोपकारी काम थियो । उनी वि.सं. २०२२ सालमा सिम्ताबाट मेहेलकुनामा बसाइँ सरेर आएका थिए ।
चन्द्रबहादर बुढा मगरका बाजेको नाम भद्रबहादुर र बज्यैको नाम पार्वती बुढा मगर हो । भद्रबहादुर र पार्वतीका पाँच सन्तान मध्ये कान्छा छोरा चन्द्रबहादुरका पिता मानबहादुर बुढा हुन् । मानबहादुर बुढा र कमला बुढाबाट दुई बहिनी छोरी र तीन भाइ छोरा मध्य कान्छा छोरा चन्द्रबहादुर हुन् । चन्द्रबहादुरका पिता मानबहादुरले कृषि कार्य गरी आफ्ना सन्तानलाई लालनपालन गरेर हुर्काएका थिए भने चन्द्रबहादुर २०२२ सालमा सपरिवार सुर्खेतकोमेहेलकुना बसाइँ सराइ गरेर आएका थिए।
२. बाल्यकाल र शिक्षादीक्षा
सुर्खेत एउटा ऐतिहासिक जिल्ला हो। प्राकृतिक दृष्टिले यो अति रमणीय रहेको छ। यस्तो रमणीय स्थलमा शरद वसन्त ऋतुमा जन्मेका चन्द्रबहादुरको बाल्यकाल सुखद रूपमा नै बितेको थियो । मधुरताले भरिएको निर्मल, कञ्चन र स्वच्छ वातावरणमा उनी हुर्के बढेका थिए। घरमा खेतीबाली, फलफूल, वस्तुभाउ पाल्ने भएकाले
दूध, दही, घिउको कमी हुन्थेन । त्यसैमा अझ बाबु अगुवा किसानका रूपमा सुपरिचित भएकाले चन्द्रलाई खाने, लाउनेदेखि अन्य कुनै कुराको पनि अभावको महसुस् भएन । साथीभाइहरूसँग कुस्ती, लिरी, डण्डीवियो खेल्ने, कबडी खेल्ने, नृत्य तथा गायन गर्ने चन्द्रका बाल्यकालीन रुचि र शौख थिए । उनी बुढापाका व्यक्ति र राजनितिज्ञहरूका कुरा विशेष रुचिका साथ सुन्ने गर्दथे । उनी मनोरञ्जन गर्न आफ्नो घर परिवार तथा मावलीघरका बाजे बज्यैसँग घुम्न जाने गर्दथे । चन्द्रबहादुरले बाल्यकालको शिक्षादीक्षा धर्म गुरु १००८ स्वामी आत्मानन्द दयाराम शर्माबाट लिएका थिए ।
३. विहेवारी तथा घरपरिवार
चन्द्रबहादुर बुढा मगरले १५ वर्षको उमेरमा तामागाँकडा टिमुरेबाट पहिलो विहे गरेका थिए । उति बेलाको समयमा बहुविवाह गर्नु सामान्य चलन थियो । ठुलाबडाले आशीर्वाद दिँदा पनि तिम्रा सन्तानले डाँडाकाँडा ढाकून भनी शुभाशीर्वाद दिने गर्दथे । जसका जति धेरै श्रीमती तथा छोराछोरी भए त्यति नै मर्द, सम्मानित, ठुलाबडा तथा उच्चस्थानको दर्जामा हुन्थे । विवाह गर्दाका बखत उनकी जेठी श्रीमतीको उमेर १५ वर्षको थियो । उनका माइती टिमुरे घर्ती मगर हुन् । चन्द्रकी जेठी श्रीमतीबाट जन्मेका एउटा मात्र छोरा नारायण बुढा मगर हुन् भने ४ ओटा छोरीको नाम क्रमशः जेठी टीका, माइली इन्द्रा, साइली दीपा र कान्छी गीता गरी जम्मा ५ जना छोराछोरी हुन्।
यसैगरी उनकी कान्छी श्रीमतीको नाम नन्दकलीदेवी बुढा हो। कान्छी श्रीमती चन्द्रकी सहोदर साली हुन्। यिनबाट दुई छोरी र दुई छोरा गरी चारजना छोराछोरीको जन्म भएको हो। कान्छी पट्टिबाटका जेठा छोराको नाम रमेश बुढा मगर र कान्छा छोराको दीपक बुढा मगर हो । जेठी छोरी भेदकुमारी पाण्डे र कान्छी छोरी लेस्मा घर्ती हुन् । स्व. बुढाका जेठि श्रीमतिबाट पाँछ र कान्छी श्रीमतिबाट चार गरि नौ सन्तान हुन्। उनका जेठा र माइला छोराको व्यावसायिक कार्यमा सङ्लग्नता रहेको छ भने कान्छा छोरा कृषि तथा समाज सेवामा सक्रिय रहेका छन्।
४. सेवा र संलग्नता
चन्द्रबहादुर बुढा मगरले समाज सेवालाई नै जीवन प्राणको मनतनमा राखेका थिए। उनले सिम्ता क्षेत्रमा अन्नको बचत सम्बन्धी काम गर्न गाउँघरबाट मानापाथी उठाई भकारीमा सङ्कलन गरी अनिकाल परेको बेला दुखी गरिबलाई अन्न वितरण गरेर दीनदुखी जनहरूको दिलको घाउमा मलम लगाउने तथा बेदनाहरूको खडेरीमा तड्पेकाहरूलाई शीतलता दिने बरपीपलको छहारी बनी उभिएका थिए । यसरी समाज सेवामा अहोरात्र खटिएर काम गरेकाले उनलाई सुर्खेती जनताले राष्ट्रिय पञ्चायतको माननीय सांसदका रूपमा चुनेर पठाएका थिए । उनी सुकुमबासी जनताका लागि जग्गा वितरण तथा जग्गा व्यवस्थापनमा कटिबद्ध भएर लागि परेका थिए। घर परिवार विहीन भएकाहरूलाई घरजग्गा वितरण गर्ने काम गरेका थिए। दुखीयाहरूको पीडालाई कम गर्न, आवाज विहीनहरूको आवाजलाई बुलन्द गरी सम्बन्धित तहमा पुर्याउन, अन्यायमा छट्पटाएकाहरूलाई न्याय निसाफ दिन बुढा तल्लीन थिए । उनी पञ्चायती व्यवस्था भए पनि सधैँ बहुदलको पक्षमा उभिए। विभिन्न समयमा जनपक्षीय उम्मेद्वारका रूपमा निर्वाचनमा भाग लिन्थे ।
५. व्यक्तित्व
चन्द्रबहादुर बुढा मगरको बाह्य व्यक्तित्व निकै आकर्षक तथा मनमोहक थियो । उनी सादा पोसाक लगाउँदा राम्रोसँग सफा गरी लगाएर हिँड्थे । उनले समय र जीवनको महत्त्वलाई राम्ररी बुझेका थिए । अनावश्यक गफ गर्ने र अरुका कुरा काट्ने बानी उनको खासै थिएन बरु मनोरञ्जनमा भने गजबसँग हाँसोठट्टा गर्ने बानी भने थियो। उनमा गफ गरेर अरुलाई लठ्ठै पार्न सक्ने खुबी भने मजबुत थियो । “जस्तालाई त्यस्तै ढिडोलाई निस्तै” भने झैँ कुनै कुनै बेलामा त उनको बोली गोलीजस्तै निस्कने गर्दथ्यो । उनको जीवनशैली अत्यन्त सरल, सादा, व्यवस्थित र नियमितता थियो । उनी अन्तरमुखी स्वभावका थिए । अन्याय, शोषण, दमन, छुवाछुत र भेदभावकाविरुद्ध विरोधी थिए । सानो छँदा गाउँमा बत्ती नभए पनि दियालो, टुक्की तथा लाल्टिन बालेर साथीसङ्गीसँग पढ्दथे । गुरुले दिएका अर्ती उपदेशलाई शिरोपर गरी व्यवहार चलाउन खप्पिस थिए।
कान्छी छोरी गीताको स्मरणमाा स्व. चन्द्रबहादुर बुढा मगर
मेरा पूजनीय स्वर्गीय पिता चन्द्रबहादुर बुढा मगरको भौतिक शरीर नभए पनि उहाँले देखाउनु भएको सतमार्ग मेरो शरीरमा एक थोपा रगत बहुन्जेल रहिरहने छ । उहाँले एउटा चमत्कारिक विचार दिएर हामीलाई छाडेर स्वर्गारोहण भएको करिब १८ वर्षको हाराहारीमा पुगेको छ । आज हाम्रा पिता यस धर्तिमा नरहे पनि उहाँले यस भेगका गरिब, निमुखा जन्तालाई आफ्नो शरीरलाई धरापमा राखेर गरेको सेवा लाख लाख वर्षसम्म इतिहासले भुल्ने छैन । भर्खरै गुर्भाकोट नगरपालिकाको कार्यकारिणी बैठकले २०७९ साल माघ १६ सहिद दिवसको दिन साविक मेहेलकुनाको पवित्र बजार स्थित बडाखोली जाने बाटो र गुर्भाकोट न.पा. जाने छिन्चु जाजरकोटको सडकमा मेरा स्व. बुवाको पूरा कदको शालिक निर्माण गर्ने निर्णय गरेको छ। यसले मेरा बुवालाई ऐतिहासिक ब्यक्तिका रुपमा सम्मान गरेको छ ।
भान्जी कलावती रेग्मीको सम्झनामा मामा स्व. चन्द्रबहादुर
मेरा अति आदणीय मामा स्व. चन्द्रबहादुर बुढा मगरले सुर्खेत जिल्लाको विकास निर्माणमा देखाएको साहासिक कदम जति बयान गरे पनि अपुरो हुन्छ । उहाँ आफ्नो शरीरलाई धरापमा राखेर गरिब, निमुखा, असहाय जनताहरूलाई गाँस, बास तथा कपासको पहिलो प्राथमिकतामा राखी जग्गा फडानी गरी भूमिहीन किसानको आवश्यकता पूरा गर्नका लागि संघर्षरत रहनु भयो । उहाँको जनताका आधारभूत आवश्यकतामा आधारित स्वास्थ्य, शिक्षा, सडक, धार्मिक मठमन्दिर निर्माण गर्ने, गोरेटो बाटो निर्माण, विभिन्न सङ्घसंस्थालाई आवश्यक पर्ने जमिनको व्यवस्था, सुर्खेत जिल्लाको पूर्वी सुभाघाटको खैरेनीमा सांस्कृतिक मेला लगाउँने फिल्डको व्यवस्था, सिँचाइको व्यवस्था आदिको उचित प्रवन्ध मिलाउनमा ठूलो योगदान रहेको छ।
सम्धी चूडामणि शर्माको स्मरणमा स्व. चन्द्रबहादुर बुढा
भारतको उत्तराखण्ड (कालापहाड) भनिने ठाउँमा पटकपटक गई परिश्रम तथा ठेक्कापट्टा गर्ने स्वर्गीय चन्द्रबहादुर बुढा मगर एक निडर, साहसिक तथा हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो । उहाँले २०२२ सालमा उहाँले पटक पटक गरी करिब ७ वर्ष जेलजीवन पनि व्यतित गर्नुभयो । पञ्चायती कालमा उहाँ दुईपटक राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभयो । उहाँ दोस्रो पटक निर्वाचित हुँदा २६ जना उम्मेदवारको धरौटी समेत जफत गर्न सफल हुनुभएको थियो । २०४६ सालको व्यवस्था परिवर्तनपछि बहुदलीय व्यवस्थामा पुनः उहाँ सांसदमा उठ्दा भने उहाँको जमानत जफत भएको थियो । त्यसपछि उहाँ स्वास्थ्यका कारणले कमजोर भई २०६१ साल साउन
७ गते बिहीबारका दिन साँझ ५ बजेतिर स्वार्गारोहण हुनुभयो ।
नरबहादुर पुन (सचिव साहुजी) को सम्झनामा स्वर्गीय चन्द्रबहादुर बुढा
स्वर्गीय चन्द्रबहादुरले यस क्षेत्रमा गरिब निमुखा जनताहरूको लागि गास, बास तथा कपासको व्यवस्था मिलाउनका लागि उल्लेख्य काम गर्नु भएको थियो । यस ठाउँमा विद्यालयको स्थापना गर्दा प्रा.वि., नि.मा.वि., मा.वि. खोल्ने क्रममा नियमानुसार धरौटी राख्नुपर्दा आर्थिक सहयोग साथै जनताको दैनिक जीवनमा भैपरी आउने कुरामा मन, वचन र कर्मले सहयोग गर्नु भएको थियो । उहाँ र म दुबै सिम्ताबासी हौं । दुबै सिम्ताबाट बसाइँ सरेर आएका हौं । हामी सधै छिमेकी रह्यौँ । वहाँ निडर, साहसी, हक्की र निकै परिश्रमी ब्यक्ति योगदानलाई सदा जीवन्त बनाउन गुर्भाकोट नगरपालिकाले २०७९/१०/१६ मा निर्णय गरेको छ । यसबाट मलाई निकै हर्षको महसुस भएको छ ।
लक्ष्मीप्रसाद शर्माको स्मरणमा स्वर्गीय चन्द्रबहादुर बुढा
मेरा अत्यन्त प्रिय अभिभावक भू.पू. राष्ट्रिय पञ्चायत सदस्य स्वर्गीय चन्द्रबहादुर बुढा मगर १७-१८ वर्षको उमेरमा मित्रराष्ट्र भारतको भारतीय सेनामा भर्ती भई तालिम प्राप्त गरे । त्यस समयमा आफ्ना साथीहरूलाई गल्लाले अपशब्द गालीको वर्षा गरेपछि तालिम दिने गुरुसँग प्रतिकार गरी तेरो दासी भएर बस्नुभन्दा त आफ्नै देशको जन्मभूमिमा रहेका दीनदुःखीयाहरूको सेवा गर्छु भन्दै घर फर्किएका थिए । त्यस समयको चलनचल्तिअनुसार अनिकाल पर्दा अनाजको जोहो गर्न गाउँगाउँमा गई माना, पाथी तथा मुरी जसले जति सक्छ उति नै उठाई घरमा भकारी बनाएर राख्ने गरिन्थ्यो । त्यो बखत चन्द्रबहादुरको अगुवाइमा अनाज जम्मा गरी अनिकाल परेको बखतमा दुखी गरिबको लागि निशुल्क वितरण गर्ने काम इमान्दारीपूर्वक गरिएको थियो । हुने विरुवाको चिल्लो पात भने झैँ उनले दुःखी गरिबको लागि दीर्घकालीन रूपमा गास, बास तथा कपासको व्यवस्था गर्न बस्ती बसाउने सोच गरे । त्यस अनुसार २०२२ साल मंसिरमा सुर्खेत जिल्लाको पूर्वी क्षेत्र भेरी नदीको दक्षिणी किनारमा रहेको लोदे मेहेलकुनाको घना जङ्गलको अवलोकन गरी वस्ती बसाल्ने अभियान सञ्चालन गरे । यसरी गरिब तथा दिनदुखीको सेवामा सधैँ तल्लीन रहेका स्व. बुढा म लगायत सम्पूर्ण सुर्खेतवासीको मनमस्तिस्कमा सधैँभरि रहिरहने छन् ।
चन्द्रबहादुर बुढाको आफ्नो भनाइ
१. २०२७ सालमा सुर्खेत कारागारमा जेल परी २०३३ सालमा छुट्दा उनले आफ्नो ओढ्ने कम्मल त्यहीँ कारागारमा छाडेर आएका थिए रे। किन राखेको भनेर सोध्दा फेरि आउँदा चाहिन्छ भनेर जवाफ दिएका थिए रे ।
२. उनी प्रधानपञ्च, उपप्रधानपञ्च, माननीय हुँदा ‘मैले पढेको छैन, म कागज हेर्न र पढ्न जाँन्दिनँ तर यदि जनताको काम हुन्छ भने ल्याऊ, म खाली कोरा कागजको तल ल्याप्चे सही गरिदिन्छु भन्थे रे । उनी यस्ता समाजसेवी र जनपक्षीय नेता थिए रे ।
स्व. बुढाको योगदानको कदर गर्दै उनको सम्मानमा भएका कामहरू
स्व.चन्द्रबहादुर बुढा मगरले समाज सेवाका क्षेत्रमा गरेको योगदानका कारण उनलाई विभिन्न सम्मान गरिएको छ । जसअनुसार उनको नामबाट चन्द्रचोकको नामकरण गरिएको छ । २०७९ साल माघ १६ गते सहिद दिवसको अवसरमा चन्द्रचोकको नामकरण गरिएको हो । भू.पू. माननीय स्व. चन्द्रबहादुर बुढाको पुरा कदको शालिक राख्न छिन्चु जाजरकोट खण्ड अन्तर्गत मेहेलकुनाको सुन्दर पवित्रबजारको मुख्य सडकको बडाखोली जाने बाटो र गुर्भाकोट नगरपालिका कार्यालय जाने बाटोको चोकमा शालिक निर्माण गर्ने निर्णय भएको छ ।
६. निष्कर्ष
पूर्वी सुर्खेतको सिम्तामा १९८७ सालमा जन्मेका चन्द्रबहादुर बुढा मगर एक सहासी, निडर तथा निर्भिक समाजसेवी र कुशल राजनेता थिए । १७-१८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भए पनि त्यहाँको नेपालीलाई अवमूल्ययन गर्ने व्यवहारले गर्दा आफ्नै जन्मथलोमा आई समाज सेवाका लागि तल्लीन भएर लागि परे । उनले परम्परागत रुपमा चलिआएको अनाज उठाउने कार्यलाई अझ व्यवस्थित गरी मानो, पाथी तथा मुरीको सङ्कलन गरी भकारी बाँध्ने काम गरे । उनले केही समय शिक्षकको रुपमा कार्य गरे पनि मूलतः
राजनीतिक व्यक्तिका रुपमा उदाउन सफल भए । उनले समाजमा रहेका दुःखी, गरिबजनहरूलाई अनिकाल परेको बेलामा निशुल्क रूपमा अन्नबालीहरू दिएर उनीरूको उद्दारमा मेरीमेटी लाग्ने गरेको कुरा उनका शुभचिन्तकहरु बताउछन् । उनको शरीर भौतिक रूपमा हामी माझ नभए पनि उनले समाज निर्माणका लागि खेलेको भूमिका सदा स्मरणीय बन्न पुगेको छ । उनले यस्तो अवस्थाबाट जनतालाई छुटकारा दिन कृषिको लागि उर्वर भूमिको पहिचान गरी त्यस आसपासमा बस्ती बसाले । कृषकहरूलाई लालपुर्जाको बन्दोवस्त गर्दै आफ्नो समाजलाई आत्मनिर्भरता तर्फ उन्मुख गराए । उनले प्रमुख रुपमा बस्ती बसालेको स्थान मेहेलकुना र यसको आसपासमा रहेको समथर भूभाग हो । उनले समाज सेवाको क्षेत्रमा निस्वार्थ भई अहोरात्र खटिएर गरेको कार्यप्रति गौरवान्वित भई उनले देखाएको बाटोलाई अबलम्बन गर्दै जाँदा प्रगतिको शिखर चुम्न सकिन्छ भन्ने अभिप्रेरणा जागृत हुन्छ । निष्कर्षमा उनी दुरदर्शी व्यक्तिव्व, समाजसेवी, भूमिदाता, श्रम गर्न सिकाउने, जननेता, जनपक्षीय उम्मेदवार, पञ्चायतका बिरोधी र बहुदलका पक्षधर, निडर, हक्की, साहसी, एक जनाका सेवक र आदर्श राजनेताका रुपमा स्व. माननीय बुढाको योगदानको मूल्याय्कन गर्न सकिन्छ।
✍️थानेश्वर लामिछाने
सहायक प्राध्यापक
त्रिभुवन विश्वविद्यालय
सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत