नवलपुर, माघ १७ गते । नवलपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । जिल्लामा भएका ७० दुर्घटनामा २१ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६७ जना घाइते भएका छन् । त्यसमध्ये ४० जना गम्भीर र २७ जना समान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कात्तिक र पुस महिनामा सबैभन्दा बढी १६–१६ दुर्घटना भएका छन् ।
कात्तिकमा ९ जना तथा साउन, भदौ र असोजमा एक–एक जना, मंसिरमा ५ र पुसमा ४ जनाको मृत्यु भएको छ । तर विगतमाभन्दा दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो । नवलपुर गण्डकी प्रदेशकै सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला हो ।
यसैबीच नवलपुरमा पछिल्लो ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधान चलाउने दुई हजार तीनसय २३ जना कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालय नवलपुरले गरेको मापसे चेकिङ्गका क्रममा गत साउनदेखि पुस मसान्तसम्म २ हजार ३ सय २३ जना कारवाहीमा परेका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
कारवाहीमा परेकाहरुलाई एक हजार रुपियाँ जरिवाना गरी सचेतना कक्षा दिएर छोड्ने गरिएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा दुई सय ४३ जना, भदौमा दुईसय ७३, असोजमा ४ सय २२, कात्तिकमा तीनसय ७०, मंसिरमा चारसय ८९ र पुस महिनामा ५ सय २६ जना चालक मापसे कारवाहीमा परेका छन् ।
कारवाहीमा परेकाबाट जरिवानावापत २४ लाख ३० हजार रुपियाँ संकलन भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् । गत वर्षको यही अवधिमा ७६ जना मात्र मापसेको कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।