बिष्णु रिजाल-३० बर्षको उमेरमा २०४७ सालमा केन्द्रीय कमिटीमा मनोनयन भएर कर्णालीको पार्टी प्रमुख (त्यसबेला सचिव) को जिम्मेवारी पाएपछि सुरेन्द्र पाण्डेले दुई बर्षसम्म साविक कर्णालीमा पाँचै जिल्ला– कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा पैदलै डुलेर पार्टी निर्माणको नेतृत्व गर्नुभएको थियो । सुर्खेतबाट दैलेखको गुराँसे, डुंगेश्वर, व्याउली हुँदै कालिकोटको हाउडीबाट मान्म, अनि जुम्ला, मुगु, हुम्ला हुँदै डोल्पाबाट रुकुम सल्यान हुँदै पैदलै कसरी दाङ निस्केँ भनेर उहाँ अहिले पनि सबै गाउँ–ठाउँको नामसहित विवरण सुनाउन सक्नुहुन्छ । 
मिसन ग्रासरुटका बेला म डेढ महिना जुम्ला बस्दा त्यहाँका गाउँ–गाउँमा सुरेन्द्र पाण्डे पुगेको स्मरण साथीहरुले सुनाउनुभएको थियो । अहिले त कर्णालीमा यस्तो हालत छ भने आजभन्दा ३३÷३४ बर्षअघिको कर्णालीमा पैदलै यात्रा गर्नु, त्यसमा पनि कम्युनिस्ट पार्टी बनाउनु, खानपिन, बसाइमा घुलमिल हुनु, भाषामा अभ्यस्त हुनु कम्ती कठिन कुरा थिएन होला । प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्ने त्यही क्षमताले नै होला, सुरेन्द्र पाण्डे आज हाम्रो पार्टीको उपाध्यक्ष हुनुहुन्छ, देशको सफल अर्थमन्त्रीका रुपमा स्थापित हुनुहुन्छ र विषयवस्तुलाई औचित्यपूर्ण र स्वीकार्य तरिकाले राख्न सक्ने अब्बल क्षमता राख्नुहुन्छ ।
हिजो सुर्खेतमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रममा कमरेड सुरेन्द्र पाण्डेले ५८ मिनेट बोल्दा पिन ड्रप साइलेन्सका साथ श्रोताले सुनेका मात्र होइन, उहाँको कुरालाई मन पराएर आपसमा चर्चा गरे । पार्टी एउटा साधन हो, मुख्य कुरा राष्ट्र निर्माण हो । पार्टी केका लागि बनाउने र के गर्ने भन्नेबारेमा हामीले हाम्रो पंक्तिलाई बुझाउनुपर्छ र नेतृत्व गर्ने अगुवा स्व्यम्मा उदाहरण हुनुपर्छ भन्ने उहाँको भनाइ सान्दर्भिक छ ।