नेपालगञ्ज । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिइएको हो ।

मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन कार्यको जोखिम बढ्दै गएको र यसको नियन्त्रणका लागि स्थानीय सरकारले वेवास्ता गरिरहेको देखिएको भन्दै स्थानीय तहको सक्रियता र अपन्त्व लिनुपर्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो ।
हालसम्म जिल्लाका केही पालिकाहरुले मात्रै कार्यबिधि निर्देशिका निर्माण गरेर पालिकास्तरीय नियन्त्रण समितिको गठन तथा कार्य संचालन गरिरहेको भन्दै सबै पालिकामा यस्तो खालको सयन्त्रण निर्माण गर्न आवश्यक रहेको सहभागिहरुले उल्लेख गरेका थिए ।
जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले जिल्लाका स्थानीय तहले यो बिषय गम्भीरताका साथ लिन र कार्यक्रमहरु संचालन गर्न आग्रह गरिन। जिल्लाका बिभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको सो कार्यक्रममा उपप्रमुख कार्कीले वडास्तरमा समेत सयन्त्रण निर्माण गरेर टोल टोलमा सचेतनामुलक कार्यक्रम संचालन गर्न अनुरोध गरिन ।
कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले मानव बेचबिखन तथा ओसार पसार कार्यबिरुद्ध कोहलपुुर बिगतदेखि नै सक्रिय भएर लागिरहेको भन्दै आर्थिक वर्षको शुरुवात अघि नै यस बिरुद्धका जिल्लास्तरको कार्यक्रमको खाका बनाएर पालिकासंग सहकार्य गर्न जिल्लास्तरीय समितिलाई अनुरोध गरे ।
कोहलपुर पश्चिम नेपालको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको र मानव बेचबिखन तथा ओेसार पसारको जोखिम धेरै रहेकाले वडास्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको समेत मेयर आचार्यले बताए । साथै उनले जिल्लास्तरीय समितिले आर्थिक वर्षको योजना निर्माण गर्नुअघि नै सो खाकासहित आए आफुहरु यस बिरुद्ध लाग्न तयार रहेको समेत प्रतिबद्धता जनाइन ।
बैजनाथ गाउँपालिका उपप्रमुख निर्मला रोकायले बैजनाथले जिल्लामै पहिलो पालिकाका रुपमा निर्देशिका निर्माण गरेर बिगतदेखि नै कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराइन
उपप्रमुख रोकायले यतिले मात्रै यसलाई नियन्त्रण गर्न नसकिने भन्दै राज्यले नीति तथा कार्यक्रममा समेत यो मुद्दालाई अगाडी बढाउनुपर्ने बताइन । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषा सिंह थारु, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, नेपालगञ्ज प्रमुख मञ्जु पाण्डेय, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी, कोहलपुरकी महिला बिकास अधिकृत घट्ना शाह, जानकी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना गाहामगर, विनरक इन्टरनेशनल नेपालकी लुम्बिनी प्रदेशकी बरिष्ठ कार्यक्रम कार्यन्वयन संयोजक कमला पन्त लगायतले जिल्ला मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि भएका र गर्नुपर्ने कार्यहरुको बारेमा आफ्नो धारणा राखे ।
मानव बेचबिखन बिरुद्धको जिल्लास्तरीय समितिको आयोजना तथा माइती नेपाल, हाम्रो सम्मान परियोजना, शक्ति समूह, साथी संस्था र आइ एन एफ नेपालको साझेदारीमा भएको सो कार्यक्रममा माइती नेपालका संयोजक केशव कोइरालाले मानव बेचबिखनमा जिल्लाको अवस्था दर्शाउनुभएको थियो भने कार्यक्रमलाई शक्ति समूहकी संयोजक निर्मला पोडेलले संचालन गरेका
थिए । सरोकारवाला बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।