नेपालगंज,बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाहको संयोजकत्वमा शनिवार ११ सदस्यीय सीमा सहजीकरण समिति गठन गरिएको छ । जसको सदस्यहरुमा नेपालगंज वडा नम्बर १५ का वडा सदस्य मेहराज अलि कवडिया, सामाजिक संघ–संस्थाको प्रतिनिधिबाट शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदी, स्थानीय युवा क्लब प्रतिनिधिबाट ईश्वर सिंह सरदार, नागरिक समाजको प्रतिनिधिबाट गुरु दयाल सिंह, पत्रकार प्रतिनिधि ध्वनी खबरका सम्पादक उदय श्रेष्ठ, उद्योग वाणिज्य संघको तर्फबाट डम्बर चन्द, शिक्षक प्रतिनिधिबाट रमेश कुमार श्रीवास्तव, नेपाल प्रहरीबाट ईलाका प्रहरी कार्यालय जमुनाहा प्रमुख मिन बहादुर बिष्ट, स.प्र.बल नेपाल नं.३० गण बागेश्वरी बाँके प्रतिनिधीबाट सप्रनाउ राजन शाह र सदस्य सचिवमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहा बाँके गुल्मपति, सप्रनाउ विकास भक्त श्रेष्ठ रहनु भएको छ ।
नेपाल भारत सीमासंग जोडिएका वडाहरुमा वडा अध्यक्षहरुको संयोजकत्वमा ११ सदस्यीय सीमा सहजीकरण समिति गठन गर्ने उद्देश्यका साथ आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा पहिलो पटक समिती गठन गरीएको हो । सीमा स्तम्भहरुको सुरक्षा लगायत रेखदेख गर्न, सीमा विवाद भएमा आवश्यक छलफलको समन्वय गर्ने, सीमा ईलाकामा बसोबास गर्ने सर्वसाधारणको हित हुने सामाजिक कामहरुको योजना बनाई संचालनमा पहल गर्ने, सीमा क्षेत्रमा भएका समकक्षी निकायहरुसँग समन्वय गर्न वातावरण बनाउने, अपराधीक गतिविधि नियन्त्रण लगायत विविध समस्याहरुको समाधानका लागी सीमा सहजीकरण समिति गठन गरीएको सीमा सुरक्षा गुल्म जमुनाहा बाँके गुल्मपति, सप्रनाउ विकास भक्त श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँले गठन गरीएको समिती लगायत सबै मिलेर अपनत्व हुने गरी सिमामा हुने कुनै पनि गतिविधीलाई सहज रुपले समाधान गर्नका लागी र अवाञ्छित गतिविधी रोकथाम गर्नका लागी यो समिती गठन गरिएको र क्रियासील भएर लाग्ने बताउनु भयो ।
आयोजित सीमा सहजीकरण समिति गठन कार्यक्रममा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरु, शिक्षकहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।