काठमाडौ “स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन” मूल नाराका साथ आयोजना गरिएको नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाण्डौमा आज सफलतापुर्वक सम्पन्न भएको छ ।
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरान, फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा जेठ २९ सोमबारदेखि सुरु भएको सो सम्मेलन आज मङ्गलबारसम्म चलेको थियो ।
सन् २०२१ मा विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा समेत तत्कालीन प्रधानमन्त्रीले सो अभियानमा विश्वसँग सहकार्य गर्ने भनेर प्रतिवद्धता गरेका थिए। नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको समग्र अवस्था नसुधारिकन देशको सर्वांगीण विकास हुन नसक्ने कुरामा समेत दुई मत छैन।
नवौं खाद्य विज्ञान तथा प्रविधि सम्मेलन तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ का अध्यक्ष अतुल उपाध्यायका अनुसार नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न सम्मेलनले सघाउ पुर्याउँछ।
दुई दिनसम्म चलेको सो सम्मेलनमा सात वटा सत्र रहेका थिए । जसमा देश तथा विदेशका गरी २४ वटा कार्यपत्र प्रस्तुत भएका छन ।
सम्मेलनमा खाद्य प्रणाली, खाद्य प्रविधि र विज्ञान, खाद्य स्वच्छता, पोषण, खाद्य सुरक्षा, रैथाने प्रविधि र बाली, जलवायु परिवर्तन र नवप्रवर्तनको विषयलाई सम्बोधन गरिएको थियो । उक्त सम्मेलनमा निति निर्माताहरु, सरकारी निकायका प्रतिनिधिहरु, बिश्वबिद्यालयका प्राध्यापकहरु, खाद्य उद्योगी तथा खाद्य ब्यवसायीहरु, खाद्य बैज्ञानिक तथा खाद्य प्राबिधिज्ञहरुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायका प्रतिनिधिहरुले दिगो खाद्य प्रणाली निर्माणका लागि बिभिन्न उपायहरु सुझाएका थिए।
‘नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको अवस्थामा थप सुदृढीकरण गर्न यस सम्मेलनले महत्वपुर्ण योगदान गर्नेछ’ उपाध्यायले भने ‘यस सम्मेलनले नेपालमा समतामुलक, उत्थानशिल र दिगो खाद्य प्रणालि निर्माण गर्ने उदेश्यले देश तथा विदेशमा रहेका वैज्ञानिक एवं अनुसन्धानकर्ताहरूको शोधपत्र, छलफल, प्राविधिक प्रदर्शनी लगायतबाट प्राप्त वैज्ञानिक निष्कर्षबाट १६ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेकोछ।
प्रमुख अतिथिका रुपमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. अनिता शाह ढुंगाना, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोबिन्द प्रसाद शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकमहानिर्देशक डा. मतिना जोशी बैद्य लगायतले सम्बोधन गर्नु भएको थियो ।
खाद्य विज्ञान र नवप्रवर्तनको माध्यमबाट नै दिगो खाद्य प्रणालि निर्माण सम्भव रहेको भन्दै नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा) का अध्यक्ष डा. अतुल उपाध्यायले उक्त सम्मेलनको समापन गरेका थिए।